लेटाङ । मालपोत तथा नापी सेवा सञ्चालन अनुमतिका लागि पत्राचार गरेको ३ महिना बितिसक्दा समेत कुनै जवाफ नआएपछि मोरङको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले मन्त्रालयमै पुगेर पहल थाल्नुभएको छ ।

नगरपालिकाले स्थानीय स्तरबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउन २०८३ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अनुमति माग्दै पत्राचार गरेको थियो । लामो समयसम्म कुनै प्रगति नभएपछि नगर प्रमुख लावतीले मन्त्रालय पुगेर प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्टसँग प्रत्यक्ष भेटघाट गरी प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गर्नुभएको हो ।

भेटमा नगर प्रमुख लावतीले सर्वसाधारणले भूमि प्रशासन सम्बन्धी सामान्य कामका लागि पनि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य गर्न लेटाङमै यो सेवा तत्काल आवश्यक रहेको बताउनुभयो ।

नगर प्रमुखको पहलपछि मन्त्रालयका प्रवक्ता सहसचिव गणेशप्रसाद भट्टले लेटाङ नगरपालिकालाई चाँडै भूमि प्रशासन सेवा हस्तान्तरण गरी सञ्चालन अनुमति दिने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयको प्रतिबद्धतापछि लामो समयदेखि रोकिएको सेवा हस्तान्तरण प्रक्रिया अब अघि बढ्ने अपेक्षा गरिएको छ ।

सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनको तयारी गरिएको नगरले जनाएको छ ।