केराबारीः साहित्यलाई पर्यटन र प्रकृतिसँग जोड्दै मोरङको केराबारीमा ‘जेफाले सिर्जना डबली’को २४६ औँ शृङ्खला तथा ‘हिँडौँ केराबारी’को १९ औँ शृङ्खला आयोजना हुने भएको छ ।

जेफाले सिर्जना डबली, केराबारी मोरङको आयोजना र एकता सामुदायिक वन उपभोक्ता समूह केराबारी–१० को सहयोग तथा व्यवस्थापनमा कार्यक्रम हुने भएको हो । कार्यक्रमको मुख्य उद्देश्य साहित्यिक सिर्जनासँगै केराबारीको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र स्वास्थ्यका लागि पैदलयात्राको महत्वलाई उजागर गर्नु रहेको आयोजकले जनाएको छ ।

‘पर्यटन र साहित्य सँगसँगै’ तथा ‘पर्यटन र स्वास्थ्यका लागि हिँडौँ केराबारी’ भन्ने नारासहित हुने कार्यक्रममा पदयात्रा, रचना वाचन तथा सिर्जनात्मक भेटघाट हुने जेफाले सिर्जना डबलीका संयोजक युवराज ठकुरीले जानकारी दिनुभयो ।

साहित्यकार, स्रष्टा, पाठक तथा प्रकृति र पर्यटनप्रेमीहरूको सहभागितामा हुने कार्यक्रमलाई सिर्जना र प्रकृतिको संगमका रूपमा अघि बढाउने तयारी गरिएको जनाइएको छ ।

केराबारीका वन, पहाड तथा प्राकृतिक दृश्यलाई साहित्यिक सिर्जनासँग जोडेर स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । पदयात्रामार्फत् स्वास्थ्यप्रति सचेतना बढाउने र साहित्यिक गतिविधिलाई समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्यसमेत राखिएको जनाइएको छ ।

शनिबार बिहान ११ बजे केराबारी–१० स्थित मच्छिन्द्र चोकबाट शुरु हुने पदयात्रा, गाउँपालिकाको कार्यालय, कुवापानी स्कुल, हुँदै हचुवा खोलामा पुगेर फर्किएपछि एकता सामुदायिक वनको सभाहलमा रचना वाचनसँगै समापन हुने आयोजकले जनाएको छ ।