ठडियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा मापदण्डविपरीत सञ्चालित अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्न स्थानीय बासिन्दाले टुन्डी कम्पनीलाई चेतावनी दिएका छन् । १५ दिनभित्र माग सम्बोधन नभए कम्पनी बन्द गर्ने समेतका कार्यक्रम अघि बढाउने स्थानीयले चेतावनी दिएका हुन् ।
डाँडागाउँ टोल विकास समितिको बैठकले बस्तीको बीचमा रहेको अलकत्रा प्लान्टले स्थानीय टोलवासीको जनस्वास्थ्य र वातावरणमा असर परेको जनाउँदै सो कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयलाई ध्यानाकर्षण गराएको थियो ।
परिवर्तन टोल विकास संस्थाले पनि २०८२ साल पुस १४ गते वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हालसम्म ज्ञापनपत्रउपर कुनै निर्णय नभएकाले सो विषयमा जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी समेतलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउने तयारी स्थानीयले गरेका छन् ।
बस्तीवासी समस्यामा परेपछि बस्तीको अलकत्रा प्लान्ट किन राखेको भनी स्थानीयलले जिज्ञासा राख्दा वडाले सिफारिश दिएको र नगरपालिका समेतबाट प्रक्रिया पूरा गरी स्थापना गरेको भनी कम्पनीका प्रमुख सस्मित पोखरेलले स्थानीय बासिन्दालाई जवाफ दिएका थिए ।
स्थानीय बस्तीमा अलकत्रा प्लान्ट स्थापना र दर्ताको लागि सिफारिश गर्ने वडाध्यक्षको नियतमाथि प्रश्न उठाई गैरकानुनी तबरले स्थापना भएको अलकत्रा प्लान्टको फोहोर, धुलो र धुवाँले स्थानीय बासिन्दा बिरामी हुन थालेपछि स्थानीयले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् ।
स्थानीयवासीको स्वास्थ्यलाई ख्याल गरी स्थानीय निकायले प्लान्ट स्थापना गर्नु उचित हो वा होइन भनी अनुगमन गर्नुपर्ने र कसैले पनि अमुक व्यक्ति वा संस्थाको फाईदाका लागि नागरिकको संवैधानिक र वातावरणीय हक हनन गर्न नहुने स्थानीय बासिन्दाको माग छ ।
सो अलकत्रा प्लान्टको धुलो धुवाँले स्थानीयको जनस्वास्थ्य र वातावरणमा असर पर्न थालेको र बस्तीको बीचमा रहेको सो कम्पनी र वडाले टोलबासीका समस्या समाधानमा पहल र समन्वय गर्नुपर्ने, नगरे थप विरोध र आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको स्थानीय बासिन्दा सानु कार्की बस्नेतले जानकारी दिनुभयो ।


















