विराटनगरः नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो । नेकपाले सरकारमा चार महत्वपूर्ण मन्त्रालयसहित पाँच जनालाई पठाएको छ, जसमा तीन जना महिला छन् ।

नेकपाले गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिश गरेको थियो । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा पठाएको थियो ।

उता, नेकपा एमालेबाट मन्त्री बनेका केही सदस्यहरूको जिम्मेवारी पनि हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको नयाँ जिम्मेवारी तोकिएको छ । उमाकान्त गौतमलाई आन्तरिक मामिलाबाट स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।

एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत रहेको छ ।

नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गराउनुभएको थियो ।