इटहरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गते बसेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने तथा त्यसका लागि वडास्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
आयोगले वडास्तरमै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने भएको छ । यस क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइँ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाएर अद्यावधिक गरिने भएको छ ।
सो कार्य आगामी भदौ १५ गतेभित्र सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । सो कार्यका लागि आवश्यक व्यवस्था मिलाइदिन आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आग्रह गरेको थियो ।
आयोगको सोही आग्रहबमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरेको हो ।

















