इटहरीः प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा ४ जना मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।


बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।


प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेश गर्ने कार्यतालिका पनि  रहेको छ । 


परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । 


कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेश गर्ने हुनुभएको छ ।