इनरुवाः सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले देवानगञ्ज गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिश गरिएको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन् ।
थापाले आधिकारिक प्रतिवेदन सार्वजनिक नभइसकेको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै थापाले आफू अपराधी नभएको र घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा उभ्याउन आफू लागिपरेको बताएका छन् ।
थापाले आफूविरुद्ध भइरहेको प्रचारलाई झुटो, आधारहीन र योजनाबद्ध भन्दै सुनसरी–४ का सांसद दीपक शाह र उनको सचिवालयसँग सम्बद्ध केही कर्मचारीले सरकारी प्रतिवेदनको नाम दुरुपयोग गरी आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएका छन् ।
उहाँहरु दुवै जना रास्वपाका सांसद हुनुहुन्छ ।
‘सुनसरी क्षेत्र नं. ४ का सांसद दीपक शाह र उहाँको सचिवालयसँग सम्बद्ध केही कर्मचारीहरू मिलेर सरकारी प्रतिवेदनको नाम दुरुपयोग गर्दै आफैं चार पाना लेखेर मेरो नाम जोडेर भ्रमपूर्ण प्रचार गराउनु अत्यन्तै गम्भीर र निन्दनीय विषय हो,’ थापाले भनेका छन् ।
आफूविरुद्ध समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सत्य र तथ्यको खोजी गरी समाचार सम्प्रेषण गर्न तथा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायसँग तथ्य पुष्टि गर्न उनले आग्रह गरेका छन् ।
‘आमा ! म अपराधी होइन । अपराधीलाई कानूनको कठघरामा उभ्याउने तपाईंको बहादुर छोरो हुँ,’ उनले लेखेका छन् ।

















