रामपुरः गाउँको विकास, रोजगारी, अनुदानदेखि विभिन्न कामको प्रलोभन देखाएर सङ्कलन गरिएका नागरिकताको प्रतिलिपि दुरुपयोग गरी उनीहरूकै नाममा ई–सेवा तथा बैंक खाता खोली करोडौँ रुपैयाँको कारोबार भएको घटना सार्वजनिक भएको छ ।

बेलका नगरपालिका वडा नम्बर ३ र ४ का स्थानीयको नागरिकता दुरुपयोग गरी ठूलो रकमको कारोबार गरेको आरोपमा प्रहरीले बेलका–४ का रितेश खत्री र उनका बुवा प्रकाश खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरो तथा वैदेशिक रोजगार विभागबाट अवैध कारोबारसम्बन्धी विषयमा स्थानीय केही व्यक्तिलाई बोलाइएपछि मात्रै कतिपय स्थानीयले आफ्नो नागरिकता दुरुपयोग भएको थाहा पाएका थिए ।

रितेश खत्रीले विभिन्न प्रलोभन देखाउँदै गाउँका सोझासिधा तथा निमुखा नागरिकबाट नागरिकताको फोटोकपी सङ्कलन गर्ने र उनीहरूको तस्बिरसमेत खिच्ने गरेको स्थानीय बताउँछन् । स्थानीयको भनाइअनुसार ४ सयभन्दा बढी नागरिकको नागरिकताको प्रतिलिपि सङ्कलन गरिएको छ ।

४४० जनाले आफ्नो नागरिकता दुरुपयोग हुन सक्ने भन्दै प्रहरीमा निवेदन दिएको र प्रहरीको प्रारम्भिक अनुसन्धानमा २ सय ३८ जनाको नाममा ई–सेवा तथा बैंक खाता खोलेको तथ्य फेला परेको छ । तीमध्ये १ सय ४७ जनाको नाममा ई–सेवा खाता खोली कारोबार गरिएको र केहीको नाममा बैंक खाता खोली रकम कारोबार भएको पाइएको प्रहरीले जनाएको छ ।

राजनीतिक दलको सदस्यता नवीकरणका लागि आवश्यक परेको, कतिपयलाई सडक कालोपत्रे हुने, पुल बन्ने र रोजगारी मिल्ने तथा कतिपयलाई कृषि फर्मका लागि सरकारी अनुदान ल्याउने भन्दै नागरिकताको प्रतिलिपि लिइएको पीडितहरूको भनाइ छ ।