दमकः काँकरभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्डका अनुसार रतुवा नदीमा निर्माण भइरहेको शैलीको आर्क पुल झापाका निन्दा, बिरिङ र कनकाई नदीमा पनि निर्माण हुने भएको छ ।
एशियन हाइवेको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत चौथो प्याकेजमा पर्ने ३०० मिटरभन्दा लामा तीनवटा पुल निर्माणको ठेक्का कोभेक–क्रेजसी–टुन्डी जेभीले पाएको छ । तीनवटै नदीमा पुल निर्माणका लागि स्टिल संरचनाको काम शुरु भएको छ ।
तीनवटै पुल निर्माणका लागि ५ अर्ब ९७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार तीन पुलको समग्र भौतिक प्रगति ३१ प्रतिशत पुगेको छ ।
काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा सडकसँगै ठूला नदीमा निर्माण हुने आर्क पुललाई आयोजनाको महत्वपूर्ण संरचनाका रूपमा लिइएको छ ।
काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्ड निर्माणको काम आधाभन्दा बढी पूरा भएको आयोजनाले जनाएको छ । सम्झौताको अवधि सकिन दुई महिना बाँकी रहँदा सडक निर्माणको भौतिक प्रगति ५१.३ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
















