विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ८ गते सोमबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र पठाएको प्रेशसभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने तयारी गरे पनि एमाले अध्यक्षसँग संवाद गरेर मात्रै विश्वासको मत लिने भन्दै सोमबारका लागि सारिएको बताइएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि संसद सचिवालय र सभामुखले सांसदहरुलाई पनि जानकारी गराएका छन् । मुख्यमन्त्री कार्की शनिबार अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौं जाने कार्यक्रम रहेको बताइएको छ ।

संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका थिए । उनलाई एमालेका उपसभामुख सहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

एमाले र तत्कालिन माओवादीबीचको गठबन्धन टुटेर काँग्रेसँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए । त्यसबेला कार्कीले राखेको विश्वासको मतको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।

कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

विश्वासको मत लिन ४७ जना सदस्यको मत आवश्यक पर्दछ ।