विराटनगरः नेपाली कम्युनिष्ट पार्टीले तीन जना महिलालाई मन्त्री बनाएको विषयलाई सांसदहरुले सकारात्मक रुपमा लिएका छन् ।
नयाँ मन्त्रीमण्डलमा दुई जना महिला गीता तिम्सिना सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री हुनुभएको छ । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ । यो विषयलाई अधिकांश सांसदले ऐतिहासिक र गर्वको विषय बताएका छन् ।
एमालेका सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले भने व्यङ्ग्य गर्दै ‘अब पोथीले फूल पार्ने र बच्चा जन्माउने’ बताएका छन् । हिजो प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले मन्त्रीमण्डलमा महिला सहभागिताको चर्चा गरे ।
‘यो चोटीको अर्को राम्रो पक्ष के छ भने धेरै महिला साथीहरू मन्त्रीमा आउनुभएको छ । उहाँहरूको माग पनि पूरा भएको छ । यो भालेहरूले मात्रै नेतृत्व गर्दा अलि यो राम्रो चलेन अथवा पक्षपात भो भन्ने उहाँहरूलाई लागेको थियो,’ मगरले भने, ‘पोथीहरू पनि सक्षम हुनुहुन्छ अब फूल पार्ने, चल्ला निकाल्ने कामको जिम्मा पाउनुभएको छ । त्यसैले आमाहरूको मन यसै पनि फराक हुन्छ । सबैलाई पक्षपात नगरिकन उहाँहरूले राम्रो गरि सञ्चालन गर्नुहुनेछ भन्ने हामीले आशा गर्न सक्छौँ । अझ समानुपातिकको तर्फबाट धेरै साथीहरू पर्नुभएकाले उहाँहरूलाई विशेष धन्यवाद ! यो पाठ अरूले पनि सिक्दा राम्रै हुन्छ भन्ने सन्देश पनि जाओस् भन्ने चाहन्छु ।’


















