विराटनगरः कोशी प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद निरन राईले प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने माग गर्नुभएको छ ।

‘कस्तुरीले आफ्नो बास्नाको खोजीमा टाढाटाढा दौडिन्छ तर आफैँभित्रको सुगन्ध थाहा पाउँदैन’, सांसद राईले भन्नुभयो, ‘कोशी प्रदेशलाई समृद्ध बनाउन यहाँको माटो र हावापानी सुहाउँदो गाँजा खेतीलाई कानुन बनाएर खुला गरिनुपर्छ ।’

वि. सं. २०३३ सालभन्दा अगाडि नेपालमा गाँजा खेती वैधानिक रहेको र त्यसबाट ठूलो राजस्व सङ्कलन हुने गरेको तथ्य स्मरण गराउनुभयो । सांसद राईले पश्चिमा देशका मानिस नेपालमा गाँजा सेवनका लागि आएर यतै बसेर खर्च गर्न थालेपछि पश्चिमा मुलुकको अनुरोधमा नेपालले अवैध घोषणा गरेको गाँजाखेतीलाई कानुनी मान्यता दिन उहाँले आग्रह गर्नुभयो ।