काठमाडौंः आठौँ संस्करणको कथा प्रतियोगिताका लागि बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गर्दै कथा आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले असोज ३ गतेभित्रमा कथा पठाइसक्नुपर्ने बताइएको छ ।

बाह्रखरी मिडियाले आयोजना गर्ने ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता’ नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हो । प्रतियोगिताको नतिजा २०८३ मंसिरमा सार्वजनिक हुने जनाइएको छ ।

प्रतियोगितामा पहिलो हुनेले दुई लाख रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसबाहेक उत्कृष्ट २५ भित्र पर्ने बाँकी २२ जना कथाकारले जनही सात हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार यस वर्षको निर्णायक समूहको संयोजकमा भुवन ढुंगाना रहेका छन् । निर्णायक समूहका सदस्यमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने छन् । आन्तरिक समूहले प्रारम्भिक चरणमा छनोट गरेका ५० कथा निर्णायक टोलीलाई बुझाउने जनाइएको छ ।

प्रतियोगिताका लागि कथा न्यूनतम १ हजार ५०० देखि अधिकतम ४ हजार शब्दसम्मको कथा वर्ड फाइलमा पठाउनुपर्ने आयोजकले जनाएको छ । पूर्वप्रकाशित वा पूर्वप्रसारित कथा पठाउन नपाइने र विगतका संस्करणमा पठाइएका कथा पनि पठाउन नपाइने जनाइएको छ ।

प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, फोन नम्बर र हालै खिचिएको फोटो पठाउनुपर्नेछ । उत्कृष्ट २५ कथा समेटिएको ‘उत्कृष्ट कथा, २०८३’ पुस्तकको लोकार्पण पनि पुरस्कार वितरण समारोहमा हुने भएको छ ।

प्रतियोगिताको टाइटल स्पोन्सर डिगो रहेको छ । सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथाको साथ रहेको छ । एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर र युनाइटेड अजोड इन्स्योरेन्स अन्य प्रायोजक तथा यति एयरलाइन्स, वेदालय तथा करुणा फाउन्डेसन नेपाल सहयोगी संस्थाका रूपमा रहेको अयोजकले जनाएको छ ।