लेटाङः अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगरको चौथो सम्मेलन लेटाङ–५ स्थित त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।

सो सम्मेलनमा एमाले नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । गत फागुनमा सम्पन्न निर्वाचन पश्चात नयाँ सरकार बनेपछि लेटाङमा एमालेले पहिलो पटक नगरस्तरीय ठूलो कार्यक्रम गरेको हो ।

सम्मेलनमा बोल्दै प्रमुख अतिथि अनेम संघ कोशी अध्यक्ष, एमाले नेतृ तथा पूर्वमन्त्री सिर्जना राईले अप्ठ्यारो परिस्थितिमा पनि महिलाहरू अग्रपंक्तिमा उभिएर पार्टीको रक्षा र सङ्गठन मजबुत बनाउन लागिपरेको स्मरण गर्नुभयो । उहाँले महिलाको सहभागिता केवल सङ्ख्यात्मक मात्र नभई निर्णायक र नेतृत्वदायी हुनुपर्नेमा जोड दिँदै क्षमता र योगदान अनुसार महिलालाई अवसर दिएमा समाज र पार्टी दुवैको हित हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीभित्र देखिन थालेको ‘पार्टी नछाड्ने तर भोट बदल्ने’ प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई अराजकताको संज्ञा दिनुभयो । अध्यक्ष खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउनुभयो ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी उपसचिव देवान राई, प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर प्रमुख भुपेन्द्रकुमार लावती, एमाले नगर अध्यक्ष खगेन्द्रराज भण्डारी लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा अग्रज महिला नेतृलाई सम्मान समेत गरिएको थियो ।