इटहरी ।  लायन्स क्लब अफ गोठगाउँ रोयल सिटी, सुन्दरहरैँचा–७, मोरङले आफ्ना सदस्य, सदस्यका परिवार तथा क्लबको सिफारिशमा उपचारका लागि जाने सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई प्रमुख मेडिकल कलेजसँग सम्झौता गरेको छ ।

क्लबले विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सँग स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउनेसम्बन्धी छुट्टाछुट्टै सम्झौता गरेको हो ।

सम्झौताअनुसार नोबेल मेडिकल कलेजमा क्लबको सिफारिशमा उपचारका लागि जाने बिरामीले सरकारी स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा उपभोग गरिसकेपछि अस्पतालमा उपलब्ध अप्रेसनसहितका सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

स्वास्थ्य बीमामा आबद्ध नभएका वा बीमा भए पनि बीमा सक्रिय हुनुअघिको अवधिका बिरामीले समेत यो सुविधा पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, काठमाडौं मेडिकल कलेजअन्तर्गत दुवाकोट केएमसी अस्पतालमा ५० प्रतिशत र सिनामंगल केएमसी अस्पतालमा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार क्लबका सदस्य तथा उनीहरूका आमा, बुबा, श्रीमान्, श्रीमती र १६ वर्षमुनिका अविवाहित छोराछोरीले समेत उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । क्लबको सिफारिशमा आउने कोशी प्रदेशका सर्वसाधारण बिरामीलाई पनि उपचार सहुलियत उपलब्ध गराइने भएको छ ।

सहुलियत प्राप्त गर्न बिरामीले क्लबका प्रेसिडेन्ट वा सेक्रेटरीको सिफारिश, ठेगाना खुल्ने परिचयपत्र तथा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ ।

प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र छुट लागू हुने उल्लेख छ । आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन स्टे, प्लास्टिक र कस्मेटिक तथा अन्य सर्जरी, इम्प्लान्ट, सर्जिकल आइटम्स, कन्सुमेबल आइटम्स र औषधिमा छुट लागू नहुने सम्झौता भएको छ ।

२०८३ भदौ ८ गतेदेखि २०८४ असार मसान्तसम्म लागू हुने सो सम्झौताका बुँदा दुवै पक्षको सहमतिमा परिमार्जन गर्न र निरन्तरता दिन सकिने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट महाप्रबन्धक दिपेश राई, काठमाडौं मेडिकल कलेजका तर्फबाट प्रशासन प्रमुख नारायण दहाल तथा लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीका तर्फबाट प्रेसिडेन्ट अनुरोध शाह र सेक्रेटरी नरेन्द्र रायाले हस्ताक्षर गर्नुभएको छ ।