काठमाडौंः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको भीषण बाढीका कारण जलविद्युत् क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

बुधबार आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा रहेका दर्जनौँ जलविद्युत् आयोजना, मानव बस्ती र भौतिक संरचनामा गम्भीर असर पारेको भन्दै इप्पानले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रारम्भिक विवरण अनुसार बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी कम्तीमा १४ वटा ठूला आयोजनामा क्षति पुगेको छ । रसुवा जिल्लामा सञ्चालनमा रहेका ५ आयोजना (२३६ मेगावाट) र निर्माणाधीन ३ आयोजना (३४२.४२ मेगावाट) मा क्षति पुगेको छ । सञ्चालनमा रहेका ४ आयोजना (१२३ मेगावाट) र निर्माणाधीन २ आयोजना (५२.६ मेगावाट) प्रभावित भएका छन् ।

विशेषगरी माथिल्लो त्रिशुली–३ ‘बी’ हब सबस्टेसनमा बाढीले क्षति पुर्याउँदा भौतिक रूपमा सुरक्षित रहेका अन्य थुप्रै आयोजनाहरू पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन् । आयोजनाका बाँध, पावर हाउस, पहुँचमार्ग र प्रशारण लाइनका टावरहरू बाढीले बगाएको वा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको इप्पानले जनाएको छ ।