खाँदबारीः जिल्ला समन्वय समितिले सङ्खुवासभाले भोटखोला–४ स्याक्सिलास्थित वरुण नदीमा १३२ मेगावाटको तल्लो वरुण खोला जलविद्युत आयोजना निर्माण अनुमति नदिन प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको छ ।
भोटखोला गाउँपालिकाको १३ औँ कार्यपालिका बैठकले वरुण नदीलाई धार्मिक सम्पदाका रूपमा संरक्षण गर्दै मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र जलविद्युत निर्माण रोक्ने निर्णय गरेको छ । समितिले वरुण नदीमा आयोजना बने धार्मिक आस्था, वातावरण र क्षेत्रीय असर पर्ने भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार अनुमति नदिन आग्रह गरेको छ ।
समितिका अनुसार सङ्खुवासभामा अरुण नदीबाहेक विभिन्न नदीबाट करिब ६ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना छ । हाल राष्ट्रिय प्रशारण लाइनमा करिब ७५ मेगावाट विद्युत् जोडिएको र अरुण नदीबाट करिब ३ हजार ५७६ मेगावाट विद्युत् उत्पादन प्रक्रियामा रहेको छ ।


















