इटहरी । विभिन्न कार्यक्रमका साथ आज विश्व संस्कृत दिवस मनाइँदैछ ।
वि.सं. २०७५ सालमा जरोकिलो प्रतिष्ठान नेपालको पहलमा यो दिवस मनाउन थालिएको हो । संस्कृत भाषाको विकास र यसको महत्वबारे विश्व समुदायलाई जानकारी गराउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
यस दिवसमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिन्छ । संस्कृत भाषामा निहित ज्ञान सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो ।
प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमादेखि शुरु हुने भएकाले त्यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको बताइन्छ । दिवसलाई संयुक्त राष्ट्र सङ्घमार्फत् आधिकारिक मान्यता दिलाउने तयारी पनि भइरहेको बताइएको छ ।

















