काठमाडौंः आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट शुरु भएको जात्रा हो । व्यङ्ग्य गर्ने दिनको रूपमा पनि गाईजात्रालाई लिइन्छ ।

गाईजात्रामा विगत एक वर्षभित्र मृत्यु भएका स्वजनको सम्झनामा गाईको रुप धारण गरी टोलटोल घुम्नुका साथै भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।

साँच्चैको गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।

पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई धेरैले यस्तै शोक एक वर्षभित्रमा बेहोरेका छन् भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरबाट वर्ष दिनभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू भनी आज्ञा दिएअनुसार गाईजात्रा शुरु भएको मानिन्छ । त्यतिले मात्र रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

नेवारी संस्कृतिमा सापारु भनेर मनाइने यो पर्व नेवारहरूको मौलिक पर्व हो ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि छ । गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखराका साथै नेवार बहुल बस्तीहरुमा मनाइन्छ ।