भोजपुर : मेला घुम्न गएका खोटाङका एक शिक्षकको कुटपिटबाट मृत्यु भएको छ। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार पुरानो रिसिइबीका कारण राईमाथि कुटपिट भएको थियो। कुटपिटका क्रममा ढुंगासमेत प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
भदौ ११ गते भएको सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा केपिलासगढी–७ सुँदेलका २१ वर्षीय प्रवेश भनिने सागर कोयी राई, २१ वर्षीय मौली भनिने प्रतिक राई, २५ वर्षीय माइकल भनिने निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय शेरबहादुर भनिने अमर राई र ३० वर्षीय उमेश दुमी राई रहेका छन्।
त्यस्तै ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई पनि पक्राउ परेका छन्।

















