भोजपुरः हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

परम्परागत अन्नबालीमा सीमित रहेका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् ।

लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेतीको विस्तार तीव्र गतिमा भइरहेको छ ।

त्यसो त किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान तथा प्राविधिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग नियन्त्रणसम्बन्धी सहयोगले किसानलाई थप उत्साहित बनाएको गाउँपालिकाको भनाइ छ ।

फलफूल खेतीमार्फत किसानको आयआर्जन बढाउने लक्ष्यसहित सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको छ । वडास्तरमै नर्सरी विस्तार गरिएको छ भने सुन्तला, एभोकार्डो र कागतीका बिरुवासमेत वितरण गरिँदै आएको छ । वालिङ, साक्सिराङ र दितेनी क्षेत्रमा सुन्तलाको उत्पादन बढी हुने भएकाले ती क्षेत्रलाई ‘पकेट क्षेत्र’ घोषणा गरेर खेती विस्तारमा जोड दिइएको पालिकाले जनाएको छ ।