विराटनगरः सङ्खुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कम्पनीलाई कारवाहीस्वरूप ठेक्का तोड्ने चेतावनी दिएको छ ।
कोशाी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समयसीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको हो । हिजो मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभएको हो ।
मन्त्री आचार्यले म्याद थप्ने परम्परा अन्त्य गर्दै गुफापोखरी–बाह्रबिसे सडक निर्माणको ०८३ कात्तिक २४ सम्ममा नतिजा नआए निर्माण कम्पनीको धरौटी जफत गरी ठेक्का रद्द गर्ने चेतावनी दिनुभएको हो ।
छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले सडक निर्माणमा भएको लापरबाही र ढिलाइले जनतामा सरकार र संघीयताप्रति नै वितृष्णा पैदा भएको बताउनुभयो ।
सङ्खुवासभाको गुफापोखरी–चैनपुर–बाह्रबिसे १९.२ किलोमिटर सडकको सम्झौता अमर कन्स्ट्रक्सन प्रा.लि.सँग २०७६ कात्तिक १५ गते भएको थियो । ६२ करोड ३७ लाख रुपैयाँमा ३६ महिनाभित्र सक्ने सम्झौता भए पनि ७ वर्ष बित्नलाग्दा समेत सडक निर्माण पूरा भएको छैन । सो योजनाको हालसम्म चार पटक म्याद थप भइसकेको छ । पटक–पटकको भेरिएसनले लागत बढेर ७१ करोड ७० लाख पुगे पनि भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत मात्रै छ । १०.५ किलोमिटर मात्र कालोपत्रे भएको यस सडकको बाँकी काम आगामी कात्तिक १५ भित्र सक्न मन्त्रालयले कडा निर्देशन दिएको छ ।
मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेँसी १४.४ किलोमिटर सडकको निर्माण प्रगति पनि सन्तोषजनक छैन । याक्थुम्हाङ–खाम्पाचे जे.भी.ले २०७७ कात्तिकमा ४४ करोड ७ लाखमा ठेक्का पाएको यो आयोजनाको प्रगति ६५ प्रतिशत मात्र छ ।
२४ महिनामा सक्ने भनिए पनि हालसम्म ३० करोड २२ लाख भुक्तानी लगिसक्दा पनि काम अलपत्र रहेको छ । निर्माण कम्पनीले आगामी पुस १५ भित्र ७ किलोमिटर कालोपत्रेसहित ८५ प्रतिशत भौतिक प्रगति गर्ने र पुस ३० भित्र आयोजना सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता पूरा नभए कानुन बमोजिमको कारबाही भोग्न तयार रहेको कम्पनीले सहमति गरेको छ ।

















