लेटाङः लागूऔषधको दुर्व्यसन र अवैध ओसारपसार नियन्त्रण गरी लागूऔषधमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ मोरङ प्रहरीले जिल्लाव्यापी रूपमा ‘लागूऔषध विरुद्धको महाअभियान–२०८३’ सञ्चालन गरेको छ ।

सो महाअभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय लेटाङको संयुक्त आयोजना तथा लेटाङ नगरपालिकाको विशेष सहयोगमा मंगलबार लेटाङमा पनिे कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाका सबै पालिकाहरूमा लागूऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

जिल्लालाई नै लागूऔषधमुक्त बनाउने लक्ष्यका साथ शुरु गरिएको महाअभियान हालसम्म लेटाङसहित मोरङका १३ वटा स्थानीय तहमा सफलताका साथ सम्पन्न भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

लेटाङमा आयोजित कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख कृष्णकुमारी निरौला र मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थिति रहेको थियो । कार्यक्रममा लागूऔषध दुव्र्यसनले पार्ने नकारात्मक प्रभाव र यसबाट जोगिने उपायहरू समेटिएको चेतनामूलक गीतिनाटक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधि, प्रशासन तथा स्थानीय सरोकारवालाहरूले समाजमा व्याप्त लागू औषधको भयावह स्थितिलाई न्यूनीकरण गर्न सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

लागूऔषधको समस्या समाजको साझा समस्या भएकाले यस विरुद्ध डटेर लाग्न र एकआपसमा पूर्ण सहकार्य गर्न सम्बद्ध सबै पक्षले प्रतिबद्धता जनाएका थिए । महाअभियानलाई व्यवस्थित र परिणाममुखी बनाउन आयोजक, स्थानीय तह तथा सरोकारवाला निकायहरूबीच ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरिएको छ ।

सो प्रतिबद्धता पत्रमार्फत् प्रहरी, स्थानीय तह र सरकारी निकायबिच सूचना आदान–प्रदानलाई सुदृढ बनाउने तथा विद्यालय, क्याम्पस, क्लब र सार्वजनिक स्थलहरूमा व्यापक सचेतना कार्यक्रम सञ्चालन गरी युवा पुस्तालाई सचेत गराउने रणनीति लिइएको छ ।

कुलतमा फसेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श, उपचार र सुधारपछि समाजमा सम्मानजनक पुनस्र्थापनाका लागि सहयोग गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

प्रतिबद्धतापत्रमा युवा पुस्तालाई खेलकुद, कला, गीत–संगीत, योग, ध्यान तथा सीपमूलक र रोजगारमुखी कार्यक्रममा सहभागी गराई सकारात्मक जीवनशैलीतर्फ अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ ।