काठमाडौंः रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ ।
सुरूङमा खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको हो ।
बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको थियो । सोही बाटोबाट आज सेनाले शव निकालेको हो ।
यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेको थियो । तर सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएपछि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन् ।


















