इटहरीः नेपाल जेसीजको आह्वानमा इटहरी जेसीजले केही दिनदेखि सङ्कलन गर्दै आएको करिब १२ लाख रुपैयाँ बराबरको राहत सामग्री रसुवा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि पठाएको छ ।
सङ्कलन गरिएको खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री सम्बन्धित पीडितसम्म पुर्याउने उद्देश्यले पठाइएको इटहरी जेसीजले जनाएको छ । राहत सामग्री सङ्कलन अभियानमा विराटनगर जेसीज, दुहबी जेसीज, बिटिएम डान्स सेन्टर, द व्यायामशाला, डाइनामिक बेबी सपलगायत दर्जनौँ संघसंस्था तथा व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए ।
इटहरी जेसीजले सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्ति, संघसंस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सङ्कलित राहत सामग्री वास्तविक पीडितसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ ।
राहत सामग्री सङ्कलन तथा व्यवस्थापन कार्यक्रमका संयोजक प्रदोष ढकाल, सहसंयोजक जीवन बराल, महासचिव टंकमणि न्यौपाने (रबिन) र अध्यक्ष मिसन पराजुलीसहित सम्पूर्ण इटहरी जेसीज परिवार अभियानमा सक्रिय रहेको थियो ।
इटहरी जेसीजले विपद्को समयमा सहयोग र मानवीय सेवामा हातेमालो गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
















