काठमाडौंः सुरुङविद् एवम् सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । खोज तथा उद्धार कार्यमा संलग्न सेनाले भित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले बताए । सुरुङ भित्र केही मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ, उनले लेखेका छन्।
अब आफू पैदलयात्रा गरी विदुरसम्म जनसंवाद गर्दै पुग्ने र त्यसपछि गाडीबाट काठमाडौं फर्कने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ ।’

















