बिर्तामोडः नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्ससँग आबद्ध तीन जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । तीमध्ये दुई जना पक्राउ परेका छन् ।
बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयका शाखा प्रमुख पिताम्बर कट्टेल, अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू र सुशील थापाविरुद्ध जाहेरी परेको हो । तीमध्ये इलाम निवासी कट्टेल र लिम्बू पक्राउ परिसकेका छन् भने थापा फरार रहेको प्रहरीले जनाएको छ ।
कट्टेल र लिम्बूलाई प्रहरीले बिहीबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीहरूमाथि अवैध रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी बिक्री–वितरण र सर्वसाधारणलाई झुक्याएर रकम असुल गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
बुधबार दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको टोलीले बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको थियो । प्रहरीले २२ महिला र १९ पुरुष गरी ४१ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महिलालाई जिल्ला प्रहरी कार्यालय झापा र पुरुषलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि अन्य व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्ने गरी छाडिएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न प्रकारका औषधी, स्वास्थ्य परीक्षण गर्ने मेसिन, कागजात तथा नगदसमेत बरामद गरेको जनाएको छ ।

















