बेलबारीः भदौ १० गतेको बाढीमा परेर बेपत्ता भएको मोरङको बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमला र उनका मामा सोमनाथ कट्टेल हालसम्म परिवारको सम्पर्कमा नआएपछि दुवै परिवारले कुशको शव बनाएर अन्त्येष्टी गरेका छन् ।

मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए । सोमनाथ मानसरोवर यात्रा गराउने ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भने दुवै जना बेपत्ता छन् । उनीहरु बेपत्ता भएको दशौं दिन आज शुक्रबार कुशको शव बनाएर अनोजको अन्त्येष्टि गरिएको छ ।

मामा–भाञ्जा सवार गाडीबाट कोही पनि निस्कन नपाएको र गाडीसमेत फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको हो । बेलबारी–११ लक्ष्मीमार्गस्थित केसलिया घाटमा हिन्दू परम्पराअनुसार अनोजको अन्तिम संस्कार गरिएको छ ।

अनोजका मामा सोमनाथको पनि तीन दिनअघि विराटनगरमा कुशकै शव बनाएर अन्त्येष्टि गरिएको थियो ।