उदयपुरः बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, सम्मान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । बालअधिकारका सवाललाई समाचारमार्फत उजागर गर्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन् ।

उदयपुरको गाईघाटमा सञ्चालित बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिममा बालबालिकाका अधिकार तथा सवालमा पत्रकारको भूमिका, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलाश पोख्रेलले महिला तथा बालबालिकासँग सम्बन्धित समाचार तयार पार्दा सामान्य समाचारभन्दा अझ बढी संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो ।

बालबालिकाको पहिचान, तस्बिर तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा त्यसबाट पर्न सक्ने प्रभावबारे पत्रकार सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरका अध्यक्ष शंकर थापाले बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धनका लागि स्थापित संस्थाले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरेको बताउनुभयो ।

तालिममा बालबालिकाको बाँच्न पाउने अधिकार, न्यायिक अधिकार, शिक्षा तथा स्वास्थ्यको अधिकारलगायतका विषयलाई समाचारको विषयवस्तु बनाउँदा अपनाउनुपर्ने विधि, भाषा र संवेदनशीलताका साथै डिजिटल माध्यमबाट रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइएको थियो ।

तालिममा वरिष्ठ पत्रकारद्वय कौशल चेम्जोङ र यज्ञप्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो । तालिममा बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाका २० जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।


वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हुरेन्डेकले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहका १८ वटा वडामा बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।