नवलपरासीः भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएकामध्ये नवलपरासी जिल्लाका विभिन्न स्थानमा फेला परेका तथा भारतमा फेला परेर नवलपरासी ल्याइएका शवसमेत गरी हालसम्म २१२ वटा शव भेटिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । जसमध्ये ८ वटाको सनाखत भएर आफन्तले लगेका छन् । जसमध्ये अधिकांश शव ट्याटुबाट पहिचान भएका थिए ।
सनाखत हुनेमा गोरखाको पालुङटार नगरपालिका–७ स्याम्ली भन्ज्याङका २८ वर्षीय समी कुमाल रहेका छन् । उनको शव भदौ १२ गते सनाखत भएको हो । परिवारका तर्फबाट उनका दाजु रमेशबहादुर कुमालले सनाखत गरेका थिए ।
त्यसैगरी धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगरको भदौ १४ गते सनाखत भएको छ । उनको शव उनका दाजु नाता पर्ने कृष्णबहादुर मगरले पहिचान गरेका हुन् ।
काभ्रेको रोशी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय शंखबुद्ध तामाङको पनि भदौ १४ गते सनाखत भएको छ । उनको शव दाइ कर्माध्वज तामाङले पहिचान गरेका थिए ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ घर भएका २८ वर्षीय सबिन रानाको भदौ १५ गते सनाखत भएको छ । उनका भाइ सचिन रानाले शव पहिचान गरेका थिए ।
पर्साको जिराभवानी गाउँपालिका–३ जीतपुरका ३८ वर्षीय राजकपुर गुरौ थारूको भदौ १६ गते सनाखत भएको छ । उनको शव भाइ सुरेशप्रसाद गुरौले पहिचान गरेका थिए ।
त्यस्तै, बैतडीको सुर्नया गाउँपालिका–६ का ३२ वर्षीय हरिश चन्दको भदौ १७ गते सनाखत भएको छ । उनी अपर त्रिशूली–२ जलविद्युत् आयोजनामा कुकको काम गर्दै आएको विवरणमा उल्लेख छ । उनको शव भाइ विशाल चन्दले सनाखत गरेका हुन् ।
नुवाकोटको किस्पाङ गाउँपालिका–२ करकरेका ६३ वर्षीय पदमबहादुर तामाङ गोसाइँकुण्ड भ्रमणका क्रममा बेपत्ता भएका थिए । उनको शव भदौ १८ गते सनाखत भएको हो । उनका छोरा साइमन तामाङले शव पहिचान गरेका थिए ।
त्यसैगरी धादिङको थाँक्रे गाउँपालिका–४ का ३७ वर्षीय दशरथ डङ्गोलको पनि भदौ १८ गते सनाखत भएको छ । उनी गाडी चालकका रूपमा काम गर्दै आएको विवरणमा उल्लेख छ । उनको शव दाइ हरिहर डङ्गोलले सनाखत गरेका हुन् ।
ठूलो सङ्ख्यामा शव भेटिएपछि नवलपरासी पश्चिमका विभिन्न स्थानमा शव व्यवस्थापन गरिएको छ । हालसम्म १९९ वटा शवको व्यवस्थापन भइसकेको बताइएको छ ।
उपलब्ध विवरणअनुसार भदौ १४ गते मात्रै सुनवल नगरपालिका–७ स्थित अलकत्रे डाँडामा ४५ वटा शवको व्यवस्थापन गरिएको थियो । भदौ १५ गते सोही स्थानमा थप २३ वटा शव व्यवस्थापन गरिएको थियो । त्यसैगरी भदौ १६ गते बर्दघाट नगरपालिका–२ चिसापानी जङ्गलमा ६५ वटा शवको व्यवस्थापन गरिएको थियो ।
भदौ १७ गते बर्दघाट नगरपालिका–२ चिसापानी जङ्गलमा थप १२ वटा शवको व्यवस्थापन गरिएको थियो । तीमध्ये भारतमा फेला परेका छ महिला र तीन पुरुषका शवसमेत रहेका थिए । भदौ १८ गते सोही चिसापानी जङ्गलमा ५४ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये भारतमा भेटिएका चार महिला र चार पुरुषका शवसमेत रहेका छन् ।

















