उर्लाबारीः उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरमा सञ्चालित श्रीमद्भागवत विष्णु पुराणको आज पूर्णाहुति हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आयोजित पुराणको हिजो साँझको विशेष सत्रमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । नगर प्रमुख खरेलले प्राकृतिक विपत्तिको सामना गर्दै धर्म, संस्कृति र परम्पराको संरक्षणलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई ‘भरत’ का अनुसार देशको समसामयिक र फरक परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष विगतका वर्षभन्दा थप परिष्कृत, मर्यादित र व्यवस्थित रूपमा पुराण आयोजना गरिएको हो । ऐतिहासिक धार्मिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको पुराणमा भक्तजनको उल्लेख्य सहभागिता रहेको उहाँले बताउनुभएको छ ।
पुराण अवधिभर विभिन्न भजन–कीर्तन समूहले प्रतियोगितात्मक तथा आकर्षक प्रस्तुति दिएका थिए ।
मुख्य वाचकका रूपमा पण्डित सुमन सङ्कल्प खनाल तथा वाचकका रूपमा पण्डित पुण्यप्रसाद खतिवडा रहनुभएको थियो ।


















