विराटनगरः जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका पाँच प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
कारबाहीमा पर्नेमा कोशी प्रदेशकी सांसद निर्मला लिम्बू तथा लुम्बिनी प्रदेशका सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् ।
लुम्बिनी प्रदेशका चार सांसदले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा सहभागी भएको आरोपमा कारबाही गरिएको जसपाले जनाएको छ ।
कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ । जसपा नेता मनिष सुमनका अनुसार लिम्बूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनलाई पार्टीबाट हटाइने जनाइएको छ ।


















