काठमाडौंः काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेका छन् ।

त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत् पूर्ण रूपमा निकालिएको हो ।

करिब डेढ महिनादेखि बान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि अभिभावकले नियामालाई उपचारका लागि केएमसी ल्याएका थिए । स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र असामान्य रूपमा ठूलो ट्युमर रहेको शंका भएपछि सीटी स्क्यान गरिएको थियो । सीटी स्क्यानमा पेटभित्र ठूलो आकारको ट्युमर रहेको र त्यसले आसपासका महत्वपूर्ण अंग तथा रक्तनलीमा दबाब दिइरहेको देखिएको थियो ।

ट्युमरले मिर्गौलालाई तलतिर र फोक्सोलाई माथितिर धकेलेको थियो । त्यस्तै, मुटुबाट शरीरको तल्लो भागतर्फ रगत लैजाने प्रमुख रक्तनलीमा समेत ट्युमरको दबाब परेको चिकित्सकले जनाएका छन् ।

ट्युमरको आकार ठूलो भएकाले शल्यक्रिया गरेर निकाल्ने निर्णय गरिएको थियो । डा. आशीषलाल श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले करिब तीन घण्टा लगाएर जटिल शल्यक्रिया गरेको थियो । शल्यक्रियाका क्रममा महत्वपूर्ण रक्तनली तथा आसपासका अङ्गमा चोट पुग्न सक्ने जोखिम रहे पनि चिकित्सकको टोलीले सावधानीपूर्वक ट्युमर पूर्ण रूपमा निकाल्न सफल भएको थियो ।

समयमै उपचार हुन नसकेको भए ट्युमरले मिर्गौला, फोक्सो तथा पेटभित्रका अन्य अङ्गको विकास र कार्य सञ्चालनमा गम्भीर असर पार्न सक्ने अवस्था रहेको चिकित्सकले बताएका छन् । ट्युमरले सानो आन्द्रामा अवरोध सिर्जना गर्न सक्ने र त्यसबाट खाना नपच्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्थे। तर समयमै शल्यक्रिया भएकाले नियामालाई त्यस्ता जटिलताबाट जोगाउन सकिएको चिकित्सकको भनाइ छ ।

छोरीको जटिल शल्यक्रिया सफल भई स्वास्थ्यमा सुधार आएपछि राई परिवारले केएमसीका चिकित्सक, नर्सिङ टोली तथा सम्पूर्ण उपचार टोलीप्रति विशेष आभार व्यक्त गरेको छ ।