इटहरीः थारू समुदायको कला, संस्कृति, पहिचान र प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ मा सृष्टि चौधरी महिलातर्फ तथा आयुष चौधरी पुरुषतर्फको प्रतियोगितामा विजेता बनेका छन् ।

सुनसरीको दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका सदस्य सचिव गीतनारायण चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल इन्टरनेसनल २०१८ की मुख्य निर्णायक रोनाली अमात्य, मिस्टर थारू नेपाल २०१८ का विजेता रविन चौधरी तथा म्यान अफ द वल्र्ड २०२५ प्रकाश चौहान हुनुहुन्थ्यो ।

महिला विधातर्फ नेहा चौधरी प्रथम उपविजेता र महिमा चौधरी द्वितीय उपविजेता घोषित भए ।

पुरुष विधातर्फ मनेश चौधरी प्रथम उपविजेता र विजय चौधरी द्वितीय उपविजेता घोषित भए ।

लोकप्रिय छनोटतर्फ महिला विधामा निरुताकुमारी चौधरी र पुरुष विधामा मनेश चौधरी छानिनुभयो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा लाइन निर्माता जयेश चौधरी, थारू विद्यार्थी सभा सिराहा जिल्ला सभापति नितेश चौधरी तथा विजेता उपाधिका प्रायोजक एवं लायन्स क्लब अफ माउन्ट एभरेस्टका उपाध्यक्ष बिकेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीसहित थारू समुदायका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, गायक, मोडल, समाजसेवी, अभिभावक तथा प्रतियोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी बालबालिकाहरूले गायन, नृत्य, अभिनय तथा विभिन्न सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।