इटहरीः इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ ।

शनिबार एसडी फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ ।

ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो ।

उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो ।

व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका स्मीत तामाङ म्यान अफ द सिरिज, न्युट्री हब फिटनेसका नमन राई हाइ स्कोरर तथा ओएसिस फिटनेसका दीप राई बेस्ट किपर घोषित भए । उनीहरूलाई जनही १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सन्तोष न्यौपानेको अध्यक्षता तथा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशव कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो ।