इटहरी । २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई दिइएको छ ।
मदन पुरस्कार गुठीका अध्यक्ष दीक्षितले उत्कृष्ट १० कृतिमध्येबाट सो पुस्तक चयन गरिएको बताउनुभयो । पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो ।
वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका तीन कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।
त्यसपछि भने पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार दिएको थियो ।


















