विराटनगरः कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलहरू नेकपा (एमाले) र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् । सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन् ।

साझा कार्यक्रम बनाउन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति, प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, मन्त्री तिलचन पाठक, सांसदहरू बाबुराम गौतम, गणेश उप्रेती, रेवतीरमण भण्डारी र एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी रहेका थिए ।

साझा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पूर्ण मन्त्रालय र निकायहरूको कार्यसम्पादन अनुगमन गर्ने प्रविधिमैत्री केन्द्रका रूपमा विकास गर्ने उल्लेख छ । यस्तै, अन्तर–मन्त्रालय समन्वयलाई कानुनी संरचनामार्फत् सुदृढ गर्ने, २०८० सालभन्दा अघि बनेका ऐन–नियमहरूको समीक्षा गरी चालु आर्थिक वर्षभित्रै परिमार्जन तथा एकीकरण गर्ने योजना छ ।

विद्यमान कार्यविधि तथा गठन आदेशहरूलाई विधेयकका रूपमा प्रदेश सभामा लगेर ऐनका रूपमा व्यवस्थित गरिने बताइएको छ ।

न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य र सामाजिक क्षेत्रतर्फ सुधारको योजना अघि सारिएको छ । प्रदेशभित्रका प्रत्येक जिल्लास्थित प्रादेशिक अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गर्न पहिलो त्रैमासिकभित्रै सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण सम्पन्न गरिने उल्लेख छ ।

धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल र मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने प्रक्रिया तत्काल अघि बढाउने लक्ष्य राखिएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन आइतबारको सार्वजनिक बिदाका दिन पनि कर्मचारीहरूलाई थप सुविधा दिएर स्वास्थ्य सेवा पूर्ण रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

प्रदेशभित्र एक विशिष्टीकृत जलन उपचार युनिट स्थापना गर्ने योजनालाई पनि प्राथमिकतामा राखिएको जनाइएको छ ।