भद्रपुरः भद्रपुर पुस्तकालय झापाको आयोजनामा भएको साहित्यिक कार्यक्रममा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबीच लोकार्पण गरिएको छ ।
भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका मातापिता र सासूससुरा लगायतले संयुक्त रूपमा सो कृतिको लोकार्पण गर्नुभएको हो ।
लोकार्पित कृतिमध्ये मुक्तक सङ्ग्रह शिशिरको जूनको समीक्षा समीक्षक प्रा.चूडामणि वशिष्ठले र आभा कविता सङ्ग्रहको समीक्षा समालोचक नमूना निरौला दाहालले गर्नुभएको थियो ।
कार्यक्रममा शिशिरको जून कृतिबाट मुक्तककार कृष्ण सुवेदी ‘निराकार’, रोमु अधिकारी, लक्ष्मी रायमाझी, उमेश लुइँटेलले मुक्तक वाचन गर्नुभएको थियो ।
आभा कृतिबाट कविहरू साङ्सेन पान्धाक, सुभद्रा भट्टराई, निर्मला कोइराला, हरि कट्टेल लगायतले कविता वाचन गर्नुभएको थियो ।
सो कार्यक्रममा मुक्तककार केशव आचार्य, समालोचक रत्नमणि नेपाल, मुक्तककार बाबुराम पोखरेल, कोसी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीलगायतका साहित्यकारले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाली साहित्यको कविता, मुक्तक, गीत, गजल, कथा विधामा लामो समयदेखि योगदान दिएकोमा साहित्यकारहरू विवश पोखरेल, केशव आचार्य, लीला लेखनका अभियन्ता डा. रत्नमणि नेपाललाई सम्मान गरिएको थियो ।
शिशिरको जून मुक्तक सङ्ग्रहभित्र १८८ ओटा र आभा कविता सङ्ग्रहभित्र ३० ओटा विविध विषयका सिर्जना समावेश छ्न् । दुवै कृतिभित्र कवि समालोचक विवश पोखरेलको भूमिका छ भने कविता सङ्ग्रहमा वरिष्ठ कवि डा विष्णुविभू घिमिरे, वरिष्ठ मुक्तककार उषा शेरचनको शुभकामना छ ।
कृतिकारहरू आमाछोरी हुनुहुन्छ ।
















