इटहरी । गत वर्ष जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ ।
यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको दिन भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागएको विरोधमा शुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सुनसरीको इटहरीमा २ जनाको ज्यान गएको थियो ।
सो घटनाको विरोधमा भोलिपल्ट २४ भदौमा देशभर प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।
भदौ २४ गते तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
सो सरकारले २०८२ फागुन २१ गते निर्वाचन सम्पन्न गरेको थियो ।

















