इटहरी । भारतको महाराष्ट्र, दिल्ली र झारखण्डलगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवारमा पुनर्स्थापना गराउन मंगलबार राति नेपाल ल्याइएको छ ।
नेपाली दूतावासको समन्वय तथा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ले उनीहरुको उद्धार गरेर परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याएको हो ।
उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी पश्चिम नवलपरासी, पाल्पा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका रहेका छन् । उनीहरू सबैलाई विभिन्न माध्यमबाट अवैध रूपमा भारत पुर्याइएको र त्यहाँ जोखिमपूर्ण अवस्थामा फेला पारेपछि भारतीय प्रहरी तथा नेपाली राजदूतावासको समन्वयमा उद्धार गरिएको हो ।
उद्दार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका र तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन् । पाँच जना बालिका तथा किशोरी छन् ।

















