हरैंचाः सुन्दरहरैंचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप गरिएको छ । आज आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पूर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गर्नुभएको हो ।

अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनीषप्रसाद गुप्ता र वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कल्पनाकुमारी यादवको सेवा थप गरिएको हो । यसअघि अस्पताल प्रमुख डा. विशालचन्द्र सुवेदी विशेषज्ञ चिकित्सकको रूपमा हुनुहुन्थ्यो । अब उहाँ सहित पाँच जना विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख बाबुराम भट्टराईले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले विपन्न नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवा विस्तार गरिएको बताउनुभयो । जनसंख्याको आधारमा मोरङको दोस्रो ठूलो नगरपालिकाका रूपमा नागरिकको जनघनत्वलाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार गरिएको उहाँको भनाइ थियो ।

सुन्दरहरैंचा नगर अस्पतालमा मात्र नभई बेलबारी, ग्रामथान र बुढीगंगालगायतका क्षेत्रबाट समेत नगर अस्पतालमा सेवा लिन नागरिक आउने गरेका छन् ।

अस्पतालका प्रशासन प्रमुख बाबुराम भट्टराईले नयाँ भवन निर्माण सम्पन्न भएपछि अपरेसन थिएटर सञ्चालनसम्मको योजना रहेको बताउनुभयो ।


कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, वडाध्यक्षहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।