पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।

नगर कार्यपालिकाको बैठक कक्षमा सम्पन्न बैठकले २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार नगरपालिकाका जनप्रतिनिधिहरूले ७ दिन बराबरको सेवासुविधा, अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारी तथा माध्यमिक तहका शिक्षकहरूले ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारी तथा आधारभूत विद्यालयका शिक्षकहरूले ५ दिन बराबरको तलब तथा बालविकास सहजकर्ता र आधारभूत तह वा सो सरहका कर्मचारीहरूले २ दिन बराबरको तलब, नगर अस्पतालका सम्बन्धित तहका कर्मचारीहरुले सोही अनुसारको तलब र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग स्वरूप रकम जम्मा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको विवरण प्रमाणीकरण गरी जिल्ला समितिसमक्ष पठाउने तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनको पृष्ठपोषणका लागि जिल्ला समन्वय समिति समक्ष पेश गर्ने निर्णय गरेको छ ।

बैठकले नगरवासीलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।