इटहरी । गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा यसलाई धेरै भारी वर्षा भएको भनिन्छ ।

गत २४ घण्टामा गण्डकीकै लमजुङको फलेनी मापन केन्द्रमा पनि धेरै भारी वर्षा मापन भएको छ । उक्त मापन केन्द्रमा १०९. २ मिलिमिटर वर्षा मापन भएको छ ।

धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।