इटहरी । आज बिहान पौने ३ बजे सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बालग्रामस्थित पूर्वपश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा–३ का २९ वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा –३ कै ३४ वर्षीय सागर रेग्मी रहेका छन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी हुन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनीहरू दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो ।


















