इनरुवाः सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनामा तत्कालीन सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाहीको सिफारिश भएको छ ।

सो घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर भदौ २ मा गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए । दुई समुदायको बीचमा विवाद शुरु भएपछि भएको झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाले ज्यान गुमाए ।

साउन १० मा भएको सो घटनाको असर मधेस प्रदेशको सिरहामा पनि फैलियो । साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले शहीद घोषणा गरेको छ ।

कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ ।

कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो ।

दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन् । समितिले दुई जना प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमान्डरहरूलाई कारबाही गर्न सिफारिश गरेको छ ।

कप्तानगञ्ज घटनामा प्रजिअसहित सुरक्षा व्यवस्थापन चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिश गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी पौडेलसहित एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कारबाही गर्न सिफारिश गरिएको छ ।

सिरहामा प्रहरीले ७ राउण्ड हवाई फायर र दुई राउण्ड गोली चलाएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । कप्तानगञ्जमा २० राउण्ड गोली चलेको भेटिएको छ ।

कप्तानगञ्जमा इन्स्पेक्टर राईले गोली चलाएको छानबिनबाट देखिएको छ । पछि सशस्त्रका सुरक्षाकर्मीले पनि गोली चलाएको र मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष छ ।

सिरहाको गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको भेटिएको छैन । गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ ।

छानबिन समितिले सुरक्षाकर्मी भन्दा बाहेक अन्यत्रबाट गोली चलेको नदेखिएको रिपोर्टमा उल्लेख गरेको छ ।