इटहरी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आजदेखि स्थानीय स्तरमा अधिवेशन शुरु हुने भएको छ । जसअन्तर्गत आज वडा अधिवेशन हुँदैछ ।

नेतृत्व चयनका लागि नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ । जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ ।

जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । कांग्रेस सभापतिमा उम्मेद्वारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

जारी निर्देशिकामा वडादेखि केन्द्रीय पदाधिकारीको उम्मेद्वारको शुल्क पनि तोकिएको छ । यसलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ ।

केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेद्वार बन्न सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्नेछ । केन्द्रीय सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्नेछ ।

उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

कांग्रेसले प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ ।

जिल्ला कार्यसमिति सभापति पदका लागि १५ हजार, उपसभापति र सचिव पदका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापति पदका लागि १० हजार, उपसभापति र सचिव पदका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र सदस्य पदका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापति पदका लागि ७ हजार, उपसभापति र सचिव पदका लागि ४ हजार, सहसचिव पदका लागि ३ हजार, सदस्य पदका लागि २ हजार र प्रदेश प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको सभापति पदका लागि ७ हजार, उपसभापति र सचिव पदका लागि ४ हजार, सहसचिव पदका लागि ३ हजार र सदस्य पदका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

महाधिवेशन तथा महासमिति प्रतिनिधितर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ६ हजार र केन्द्रीय महासमिति सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

नगरपालिका कार्यसमितिको सभापति पदका लागि ६ हजार, उपसभापति र सचिव पदका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

गाउँपालिका कार्यसमिति सभापति पदका लागि ६ हजार, उपसभापति र सचिव पदका लागि २ हजार, सहसचिव पदका लागि १ हजार ५०० र सदस्य पदका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

सबै वडा कार्यसमिति सभापति पदका लागि १ हजार, उपसभापति, सचिव र सहसचिव पदका लागि ७००, सदस्यका लागि ६०० र क्षेत्रीय प्रतिनिधिका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ ।