इनरुवाः प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा हिजो साँझ भएको गोलीकाण्डको घटनामा संलग्न २ जनालाई आज सार्वजनिक गरेको छ ।

हिजो साँझ देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मध्य हर्षाहीस्थित बीपी चोकमा दुई समूहबीचको झगडामा स्थानीय नीरजकुमार यादव घाइते भएका थिए । प्रहरीले शशुरुमा यादवलाई गोली हानिएको बताएको भए पनि अनुसन्धान भइरहेको बताएको छ ।

घटनामा संलग्न २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिइएको हो । सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

सो घटनामा घाइते भएका २४ वर्षीय नीरजकुमार यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ ।

देवानगञ्ज–१ यादव टोलका नीरजकुमार यादव र उनका छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादव हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्कने क्रममा १५ जनाको समूहले आक्रमण गरेको थियो । लक्ष्मी मन्दिरनजिक करिब १५ जनाको समूहले मोटरसाइकल रोकेर कुटपिट गरेको थियो । सोही क्रममा पछाडिबाट गोली प्रहार भएको र नीरजको दायाँ हिपमा गोली लागेको जस्तो प्वाल देखिएको स्थानीयले बताएका थिए ।

घाइते नीरजले पनि आफूमाथि गोली प्रहार भएको बताएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको र अस्पतालको रिपोर्ट पछि मात्र स्पष्ट हुने जानकारी दिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।