इटहरी । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अनुसार २०८२ मा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’ पुरस्कारका लागि छनोट भएको हो । प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीमा रहेका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’ छनोट गरेको हो ।
नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत आख्यानकार एवं लेखक ‘कृष्ण धरावासी’लाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक तथा दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई आफ्ना सिर्जनामा प्रस्तुत गर्दै आउनुभएको छ ।
‘पद्मश्री गौरव पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेख्नुभएको छ ।
तीनै पुरस्कारको राशी जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।


















