विराटचोकः सोमबारदेखि मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा शुरु भएको छ । अब नगरवासीले जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत भूमि प्रशासनसम्बन्धी तोकिएका सेवा नगरपालिकाबाटै लिन सक्ने बताइएको छ ।
नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत् सेवा प्रवाह गर्ने उद्देश्यले शुरु भएको सो कार्यक्रम नगरप्रमुख केदारप्रसाद गुरागाईंले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा नगरबाट पहिलो सेवा लिने ४ जनालाई सम्मान पनि गरिएको थियो । नक्साको प्रिण्ट लिने रमेश खड्का र नारायण कार्की तथा जग्गा बेच्ने र सो जग्गा किन्ने लाई कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख गुरागाईँले नगरपालिकाले पहिलोपटक सेवा सञ्चालन गरेकाले प्रारम्भिक दिनमा सेवामा केही ढिलाइ हुन सक्ने भए पनि क्रमशः सेवा छिटोछरितो र प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । आफू निर्वाचित भएर आएपछि दोस्रो नगरसभाबाटै भूमि प्रशासन तथा व्यवस्थापन सेवा सञ्चालन गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
मालपोत (नवौँ संशोधन) नियमावली, २०८३ बमोजिम स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी तोकिएका कार्यहरू सम्पादन हुने जनाइएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नापी कार्यालय मोरङका नापी अधिकृत मिथलेस यादव, नापी कार्यालय बेलबारीका प्रमुख सुदर्शनसिंह धामी, भूमि प्रशासन कार्यालय बेलबारीका प्रमुख दीपक कोइराला तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरेलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।


















