विराटचोकः फरकफरक लेखकका बालचित्रकथा र बाल कविता सङ्ग्रह मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित रोजाइ मण्टेश्वरी स्कुलमा १०१ जना बालबालिकाको हातबाट हिजो संयुक्त रूपमा विमोचन गरिएको छ ।
कोसी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीको ‘उपहार’ र सचिव नवशिलाको ‘परी भएँ म’ नामक बाल साहित्यिक कृतिको विमोचन गरिएको हो । १०१ जना बालबालिकाको हातबाट बाल साहित्यका पुस्तक विमोचन गरिएको सम्भवतः देशमै पहिलो घटना भएको आयोजकले जनाएको छ ।
विमोचन समारोहका प्रमुख अतिथि अग्रज स्रष्टा तथा भाषाविद् अमृतप्रसाद आचार्यले बालबालिकाको हातबाट पुस्तक विमोचन गरिनु नौलो र अनुकरणीय कार्यक्रम भएको बताउनुभयो । उहाँले नयाँ प्रकाशित कृतिले बालबालिकामा पठन संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार छवि वैरागी घिमिरेले बालबालिकालाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले दुवै कृतिमा समेटिएका चित्रसहितका कथा तथा कविताले बालबालिकाको मनमा गीतझैँ बस्ने विश्वास व्यक्त गर्नुभयो । जन्मदिनलगायत विशेष अवसरमा बालबालिकालाई पुस्तक उपहार दिने संस्कारको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता रोजाइ मण्टेश्वरी स्कुलका सञ्चालक महेश आचार्यले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कोशी साहित्य कला परिषद्का कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले गर्नुभएको थियो । स्वागत मन्तव्य कृतिकार विरहीले गर्नुभएको थियो ।
कार्यक्रममा नवशिलाको कृति ‘परी भएँ म’ भित्रको ‘हाँस्यो पुतली’ शीर्षकको कवितामा सङ्गीत भरेर विद्यार्थीले गाएका थिए । एक घण्टाको तयारीमा पनि विद्यार्थीले राम्रो प्रस्तुति दिन सक्नुले कृति बालमैत्री रहेको पुष्टि भएको विद्यालयका सङ्गीत शिक्षक सन्तोष राईले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीका साथै अभिभावकको पनि उपस्थिति थियो ।


















